नचिनेको साली र डिएफडब्लुनेपाल डट कम

लिविङ रुममा समानहरु छरपस्ट छन् । तिस डलरको टि.भी मा बिज्ञापन बजिरहेछ । हुलाकले पठाएका चिट्ठी पत्रहरु यत्र तत्र सर्बत्र छन् । “जती च्यात्यो उती आइरहने” झनक्क रिस उठ्छ । ढिलो उठेकोले भोक औधी लागेको छ । भान्छामा छिर्छु, फ्रिज खोल्छु । फ्रिजमा पकाएर हिजो अस्ति देखि राखेका बासी खानेकुराहरु प्लास्टिकको भाडामा बिर्कै नलगाइ राखिएका छन् । २% भिटामिन डी दुधका ग्यालिन, एउटा लल्याक लुलुक परेको सागको मुठो, जुखनी(लाम्चो खाले फर्सी), गोल्भेडा, ब्रोकाउली लगाएतका तरकारीहरु मैले होईन मलाइनै खाउला झै गरेर हेरिरहे जस्तो प्रतित हुन्छ । अस्ति पकाएको माछा नुन चरको भएकोले अझै बाँकी छ । वालमार्टबाट ल्याएको रोटी कक्रक्क परेर फ्रिजको धोकाबाट चियाउदै छ । आज यही तोर्तियाको(मेक्सिकन भाषामा रोटीलाई तोर्तिया भन्दो रैछ) सिकार गर्नु पर्‍यो, मन्मनै सोच्छु । सबै भाडाबाट एकएक गरि थालमा बासी तरकारी, माईक्रो वेभमा तताएको रोटी हालेर दनादन खान सुरु गरे ।

घरी कम्प्युटर स्क्रीनमा त घरी थालको रोटी तरकारीमा हेर्दै थिए, टेलिफोनको घण्टी बज्यो । हेरे नम्बर अपरिचित थियो । उठाउ की नउठाउ दोधारमा परे । यता हुदो यस्ता फोनले हामीलाई धेरैनै सताउछन् । कहीले कहाँ र कहीले कहाँ बाट आइरहने यी फोनले हाम्रो मिनटको सत्यानास गरिरहन्छन् । गफ धेरै गर्नु पर्ने हामीलाई महिनामा चार पाच सय मिनटले केको पुग्नु, चट्नी पनि हुदैन । कहीले कामबाट, कहीले क्रेडिट कार्डबाट त कहीले अनाब्स्यक बिज्ञापन र राम्रा राम्रा अफर(फसाउन यस्तो कत्ति हुन्छ कत्ति) गर्दै गरिएका फोन उठाउदा हामीलाई उपलब्ध समय पुग्दै पुग्दैन । त्यस्माथी यो र त्यो भनेर जवाफ दिदा दिदा वाका दिक्क भइन्छ, भन्ने हो भने पीडित नै भइन्छ । होईन कसको होला यो फोन ? चिनेको मान्छेको भए त नम्बर होईन नाम आउथ्यो तर यहाँ त नम्बर मात्र आको थियो । एरिया कोड तिर आँखा लगाए, २१४ थियो । सोचे, यो त टेक्सासकै हो, यतै कतैको हो । छोटो कुरा गर्छु र काममा छु पछि गर्नु है भनेर राख्छु भन्ने बिचार गर्दै लामो सास फेरेर फोन सेटको देब्रे तिरको रिसिबरको चिन्ह भएको बटन थिचिदिए ।

“हेल्लो” उताबाट एउटा अपरिचित स्त्री स्वर मेरो कानमा गुन्जियो । “भिनाजु नमस्कार” । “भिनाजु” ? होईन यो को हो मलाई भिनाजु भन्ने ? म आस्चर्यमा परे । भन्ने हो भने म सालीको धनी नै हो । भन्नै लाज लाग्छ । तर धेरै जस्तो त नेपालमै छन् । यता भएका दुईटी साली अन्जु र जमुनाको स्वर यो होईन, मलाई ठम्याउन गाह्रो परेन । को होला यो, मन्मनै घोत्लिए । फेरी मामा, अन्कल भनेको भए अर्कै हुन्थ्यो, यहाँ त भिनाजु सम्बोधन भएको थियो । भिनाजु हुनु चान्चुने कुरा होईन, गर्बकै बिषय हो । भिनाजु हुनु फाईदै फाईदा छ, घाटा कतै देखिन ।

सम्झे साली त आधी घरवाली हो भन्थे उहीले उहीले बुढा पुरानाले । साली बिनाको ससुराली र नुन बिनाको तरकारी जस्तै हो भनेको पनि सुनेको थिए । मेरो एकजना मित्रले त साली नभएको घरमा बिहेनै गर्दिन भनेर अड्डी नै कसेर बसेका थिए । पछि बिचरा साली मात्र होईन सासू पनि नभकोमा परे, खप्परको खेल । हुन पनि ससुरालीमा कहीले काही जादा सालीको महत्व नै अर्कै हुन्छ । मुसुक्क हाँस्दै, लजाउदै वरपर गर्ने “कोहि” भयो भने एक दुई दिनको ससुराली बसाइको रौनक नै अर्कै हुन्छ । मिठो खाँदै, मीठा कुरा गर्दै “घरकी मुर्गि” को टेन्सन भुल्न रमाइलो नै हुन्छ । यी र यस्तै हजार फाईदा भएकोले “सालि” शब्दको भाउ नेपाली बजारमा गतीलै छ, होईन र ? सालीको फाईदा बारे लेखेर कापी भरिएला सकिन्न किन बढी कस्ट गर्नु । यसरी उनले भनेको “भिनाजु” शब्द झन्कार बनेर मेरो नशा नशामा पुग्यो, अनौठो अनुभुती भयो ।

आफ्नो उत्तेजनालाई सम्हाल्दै र रोमान्चित हुँदै मैले जवाफ फर्काए ” नमस्कार को बोल्नु भएको हो ? मैले त चिनिन नी ” । त्यस पछी उनले आफ्नो नाली बेली सुनाइन । नाम रिता, घर काठमाडौं खाल्टो, मामाघर चितवन ब्ला ब्ला ब्ला । परिचय सिद्दिए पछी फोन गर्नुको रहस्य खोलिन् त्यो बढी औपचारिक थियो । उनी र अरु तिनजना साथीहरु मिलेर डीएफडब्लुनेपाल डट कम नामको वेबसाईट सन्चालन गरेका रहेछन् । विद्यार्थी भिसामा अमेरिका छिरेर, कलेजको महँगो फिस तिरेर, काम खोज्न हरेक ग्यास टेसनमा छिरेर पनि बाँकी समय निकालेर मुकुन्द, अनोज, राजन र रिताले यस्तो रचनात्मक काम गर्न गरेको साहसले मलाई उनिहरु प्रति गौरब महसुस भयो । नेपालबाट पैसो ल्याउन नसक्ने विद्यार्थीको लाइफ यहाँ कस्तो हुन्छ त्यो भोग्ने र देख्नेलाई थाहा छ । यस्तो बिसम परिस्थितिमा पनि यी कलिला बिध्यार्थीहरुले गरेको साहस देखेर मेरो मन प्रफुल्ल भयो कुराकानीमै मेरा लेखहरु उनीहरुको साईटमा पनि प्रकासित गर्ने अनुरोध गरिन उनले । कनिकुथी गर्दै दुई चार शब्द लेख्ने यो मनुवालाई लेखिदिनुस् भनेर दिएको सम्मानले म उत्साहित भए । यो महायज्ञमा चरु होम्ने अबसर दिएकोमा उनलाई धन्यवाद दिन कन्जुस्याइ गरिन ।

हुन्छ भनेर भनेर भन्नु अघि एक्छिन फेरी घोरिए । मैले यसरी मनका गाठा जानि नजानी फुकाउन थालेको करिब ३ बर्ष भयो होला । म धेरै जसो पत्रिकाहरुमा छापिने लेखहरु सुरु देखि अन्त्य सम्मनै पढ्छु । राजनीतिक, सामाजिक र जनजिबन सम्बन्धी लेखहरुले मलाई आकर्सित गर्छन् । कतिपय लेखहरु पढ्दा “अहा मैले पनि ठ्याक्कै यस्तै सोचेको थिए” जस्तो लाग्छ । कसैले लेखिसके पछी तेस्तै लाग्दो रहेछ । तर लेख्न थाले पछि कमै मात्र लेखहरु टुङगिन्छन् । बिषय बस्तुलाई छर्लङग पार्न, सुरु देखि अन्त्य सम्म पाठकलाई डोराउन सजिलो काम होईन । आधुनिक पाठक चुजी छन् । उनीहरुलाई छान्ने अबसर र अधिकार छ । त्यसैले रसिलो र स्वादिलो भाषामा लेख्न बडो कठिन हुदो रहेछ । आफैले लेखेका कतिपय कुरा आफैलाई मन पर्दैन, आफु पाठक भएर पढ्दा । लेख्न अघि धेरै पढ्नु पर्ने, धेरै सोच्नु पर्ने र कतिपय अबस्थामा तथ्यान्क समेत बटुल्नु, मिठो सैलिको प्रयोग गर्नु पर्ने भएकोले यस्मा आर्थिक होईन समय र दिमागको लगानी बढी हुदो रहेछ । अझै ब्यस्त अमेरिकी जिबन्मा त यो सारो काम हो । तैपनी “सालि”को आग्रहलाई “नाइ” भन्न गाह्रो लाग्यो । हुन्छ भनेर टाउको हल्लाए । एउटा अपरिचित “सालि” सँग कुरा गर्दा गर्दै काममा जना ढिला हुनै लागेछ । खाएका भाडा माझ्ने जागर र फुर्सद दुबै नभए पछि जुठा भाडा सिन्कमा थुप्रो पारेर बाटो लागे । अस्तु ।

0 thoughts on “नचिनेको साली र डिएफडब्लुनेपाल डट कम”

Leave a Reply to nepali Cancel reply