हामी संधै अंध्यारोमा- लोडसेडिङमुक्त देश कहिले ?

“यस बर्ष दैनिक कम्तिमा पनि १९ घण्टा लोडसेडि हुन्छ, त्यसका लागि हामी तयार हुनुपर्छ,” नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कायकारी निर्देशक दिपेन्द्रनाथ शर्माले सार्वजनिक कार्यक्रममा भाषण गर्दा धेरैले आश्चर्य माने । त्यति मात्रै होइन यदी विद्युत् आपूर्तीका लागि नयाँ विकल्प नखोज्ने हो भने केही बर्षभित्रै लोडसेडिङको समय बढेर २२ घण्टा पुग्ने प्रक्षेपण उनको थियो । प्राधिकरण आफैले पनि दुई महिना अघि यस वर्षको हिउँदमा १९ घण्टा लोडसेडिङ हुने आधिकारिक प्रक्षेपण गरेको छ । यसले विद्युत कटौतीको नेपाली वास्ताविकता उजागर गरेको छ ।

अहिले नै दैनिक आठ घण्टे लोडसेडिङ छ । चरम सुख्खायाम आउन अझै बाँकी रहेको अवस्थामा शुरु भएको यो लोडसेडिङको हद अनुमान गर्न अझै सक्ने अवस्था छैन ।

Photo Courtesy: www.nea.org.np

नेपालमा लोडसेडिङ यति चर्को समस्याको रुपमा आंउदा पनि विद्युत् उत्पादन बढाउने बैकल्पिक कुनै उपाय तत्काल छैनन् । जलविद्युत् विकासका प्रचुर संभावना हुँदाहुँदै पनि संसारलाई नै रमिता हुने गरी लोडसेडिङको मार खेप्नुपर्ने अवस्था उत्पन्न भएको छ । दश वर्ष विश्व बैंकले लगानी गरेको अरुण तेश्रो यदी बनिदिएको भए सायद यो समस्या अहिले रहंदैनथ्यो । तर राजनीतिक दलहरुले प्रतिष्ठा र खोक्रो राजनीतिको बिषय बनाइदिदा अहिले पनि आम नेपालीले अंध्यारोमा बस्नुपरेको छ ।

पछिल्लो समयमा नेपालको विद्युत् उत्पादनको अवस्था दयनीय छ । माग बढेको बढ्यै छ तर उत्पादन शुन्य छ । “यस्तो अवस्थामा लोडसेडिङ नभएर के हुन्छ, <” पूर्व उर्जा मन्त्री गोकर्ण बिष्ट भन्छन् । विद्युत् खरिद बिक्री संझौता भइसकेका आयोजना पनि सजिलै गरी अघि बढ्न सकेका छैनन् । कहिले नेपाल विद्युत् प्राधिकरणले ठेकेदारलाई पैसा नदिएको निहुँमा त कहिले राजनीतिक खिचातानीले आयोजनाहरु अवरुद्ध भइरहेका छन् । सैद्धान्तिक रुपमा नेपालका नदीहरुबाट ८३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने ३० बर्षअघिको एउटा अध्ययनले देखाएको छ । प्राविधिक र आर्थीक हिसावले पनि ३४ हजार मेगावाट बनाउन सकिने विज्ञहरुको दावी छ । नेपालमा जलविद्युत् उत्पादन सुरु भएको ठ्याक्कै एकसय बर्ष पुग्यो । सन् १९११ को मे २३ तारिखमा फर्पिङबाट ५सय किलोवाट बिजुली निकालिएको थियो । त्यही गतीमा विद्युत् उत्पादन भइदिएको भए अहिले सारा नेपाल झिलिमिली हुन्थ्यो । अहिले नेपालमा जम्माजम्मी ६९० मेगावाट बिजुली मात्रै उत्पादन भइरहेको छ । जसमध्ये ६३८.३ मेगावाट जलविद्युत् र ५३.४ मेगावाट थर्मल प्लान्टबाट हो । उत्पादित बिजुलीमध्ये पनि जलाशययुक्त आयोजना एउटा मात्रै छ । ९२ मेगावाटको कुलेखानी आयोजनाजस्ता अन्य आयोजना बनेको भए सुख्खायाममा पनि राहत महसुस हुन्थ्यो । तर अरु त्यस्ता आयोजना कुनै पनि बनेनन् । बगेका नदीबाट ५४२.५ मेगावाट जिुली उत्पादन भएको छ जसमध्ये ३८५.६६ प्राधिकरणले तथा १५६.३४ मेगावाट स्वतन्त्र उर्जा प्रवद्र्धकहरुले उत्पादन गरिरहेका छन् । यसमध्ये बर्षायाममा जम्मा ५०० वाट मात्रै बिजुली निस्कन्छ । जबकी माग भने सात सय ३० मेगावाट छ । अझ सुख्खायाममा त दुईसय मेगावाट मात्रै बिजुली उत्पादन हुन्छ । माग भने आठसय ८ मेगावाट छ । विद्युत् उत्पादनको लक्ष्य अनुसारको उत्पादन कहिल्यै भएको छैन । पछिल्ला २० बर्षमा विद्युत् उत्पादनको लक्ष्य धेरै त तर उपलब्धी शून्यजस्तै छ । नेपालमा बिजुली बाल्न थालेको एकसय बर्ष पुरा भइसक्यो । ८३ हजार मेगावाट बिजुली निकाल्न सकिने संभावना भएको देशमा अहिलेसम्म सातसय मेगावाट पनि उत्पादन भएको छ । यसरी हेर्ने हो भने पनि एक बर्षमा साढे ६ मेगावाट भन्दा बढी बिजुली उत्पादन नै भएको छैन । बिजुलीको अभावमा उद्योग कलकारखाना तथा मानिसको दैनिक जनजीवनसमेत प्रभावित भइरहेको छ । जलविद्युत् विकासको क्षेत्रमा नीजि क्षेत्रको लगानी उत्साहजनक छैन । सबैभन्दा धेरै विद्युत् नेपाल विद्युत् प्राधिकरणले नै उत्पादन गरिरहेको छ । तर प्राधिकरण आफै अस्वस्थ र राजनीतिक दलदलमा फसेका कारण भएको बिजुलीको वितरण तथा थप उत्पादनका संभावनासमेत पातलिदै गएको अवस्था छ । बार्षिक पाँच अर्ब घाटामा रहेको प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण गर्न सकेमात्रै पनि करिव ६८ मेगावाट बिजुली थपिने विज्ञहरुको निश्कर्ष छ । हाल नेपालमा उर्जाको उत्पादन सबैभन्दा धेरै सरकारी जलविद्युत् आयोजनाले गरेका छन् । कुल ६९७.८५ मेगावाटमध्ये सरकारी आयोजनाबाट ४७२. ९९ मेगावाट उत्पादन भइरहेको छ । यसैगरी सरकारी साना जलविद्युत् आयोजनाबाट ४.५४ मेगावाट, नीजि क्षेत्रबाट निर्मित आयोजनाबाट १६६.८१ मेगावाट बिजुली उत्पादन भइरहेको छ । डिजेल केन्द्रबाट ५३.४१ तथा शौर्य शक्तिबाट ०.१० मेगावाट बिजुली उत्पादन भइरहेको छ । हाल ९२ मेगावाटको कुलेखानीबाहेक कुनै पनि जलाशययुक्त आयोजना निर्माण भएका छैनन् । “जबसम्म जलासययुक्त आयोजनाबाट विद्युत् उत्पादन हुँदैन तबसम्म नेपालमा लोडसेङिको अवस्था ज्यूँका त्यूँ हुन्छ “। निर्वतमान उर्जा मन्त्री पोष्टबहादुर बोगटी भन्छन् । पछिल्लो समयमा सातसय मेगावाटको पश्चिम सेती बनाउन चिनको थ्रि गोर्जेज सकारात्मक देखिएको छ । साइट हेर्नका लागि नेपाल आएको टोली अहिले स्थलगत भ्रमणमा छ । यदी कुनै अवरोध नभई यो आयोजना पुरा भए नेपाली जलविद्युत्का लागि ठूलो उपलब्धी हुनेछ । ४५६ मेगावाटको माथील्लो तामाकोशीको काम पनि अहिले धमाधम भइरहेको छ । ३४ प्रतिशत काम सकिएको यो आयोजना थप तीन बर्षभित्रमा सक्ने लक्ष्य छ । यसैगरी उर्जा मन्त्रालयले गोरखा र धादिङको सिमानामा पर्ने बुढी गण्डकी र नलसिंगाढ जलाशययुक्त आयोजना तथा उत्तर गंगा अघि बढाउने प्रयास सुरु गरेको छ । तर यसका लागि लगानीको ग्यारेन्टी भने भइसकेको छैन । छ सय मेगावाट बिद्युत् उत्पादन हुने बुढीगण्डकी र नौस्यालगाढ आयोजनाको अध्ययनका लागि सरकारले यस बर्षको बजेटमा रकम छुट्याएको छ । पछिल्ला वर्षहरुमा नेपालमा विद्युत् उपभोक्ता पनि बढेको बढ्यै छन् । सन् २००२ मा पाँच लाख विद्युत् उपभोक्ता थिए । त्यो अहिले बढेर २० लाख पुगिसकेको छ । प्राधिकरणले २०१२ मा त्यो संख्या बढेर २५ लाख पुग्ने अनुमान गरेको छ । सन् २०२० सम्ममा विजुलीको माग दुई हजार दुईसय मेगावाट हुने पक्षेपण प्राधिकरणको छ । यो माग बढेर सन् २०२७।२८ मा करिव चार हजार मेगावाट पुग्ने अनुमान छ । सरकारले दश बर्षमा दश हजार मेगावाट, बीस बर्षमा पच्चिस मेगावाट तथा साढे चार बर्षमा दुईहजार पाँचसय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । तर सरकारका यी कुनै पनि लक्ष्य पुरा हुने छाँट छैन । तर बिज्ञहरु भने अस्थिरता र सुरक्षाको ग्यारेन्टी भए लगानीको समस्या नभएको दावी गर्छन् । बिजुलीको माग र आपूर्तीका बिचमा ठूलो फरक भएका कारण पनि थोरै विद्युत् उत्पादनले लोडसेडिङको अन्त्य हुने छाँट छैन । हाल केही ठूला आयोजना निर्माणाधिन अवस्थामा छन् । तर प्रशारण लाइनको बिस्तार नयाँ निर्माण सम्पन्न नहुँदा निर्माणाधिन आयोजनाबाट उत्पादिन बिद्युत्को खपतका लागि समस्या उत्पन्न हुने निश्चित छ । अहिले एकहजार पाँचसय ६२ किलोमिटर लामो एकसय ३२ केभिको १९ वटा तथा तीनसय ५४ किलोमिटर लामो ५५ केभिका १६ वटा प्रशारण लाइन सञ्चालनमा छन् । उत्पादिन बिद्युत्को वितरण तथा निकासीका लागि २२० केभिका पाँचसय ७० किलोमिटर लामा ६ वटा, छ सय ४४ किलोमिटर लामो १३२ केभिका सातवटा तथा १२ किलोमिटर लामा ६६ केभिको एउटा आयोजना बनाउने प्रस्ताव छ । यसमध्ये सबैभन्दा महत्वपूर्ण ढल्केबर मुजफ्फरपुरको प्रशारण लाइनका लागि भने लगानीको संझौतासमेत भइसकेको छ । दुईसय २० केभिका एकसय ४७ किलोमिटर लामो तथा एकसय ३२ केभिका एकसय ५७ किलोमिटर लामो २ वटा प्रशारण लाइन निर्माण भइरहेका छन् । जलविद्युत् उत्पादनमा प्रगती हुन नसक्नुमा वर्तमान उर्जा नीति पनि दोषी भएको विज्ञहरुको आरोप छ । नीजि विद्युत् उत्पादनकर्ता शैलेन्द्र गुरागाँइ भन्छन्,‘ राज्यको अदुरदर्शाी नीति हरेक मन्त्री आउदा परिवर्तन हुन्छ त्यो मात्रै एकमात्र जड हो । सरल र सुलभ कर्जा र व्याजदरका कारण विद्युत क्षेत्रको विकास हुन नसकेको नेपाल उद्योग परिसंघका उर्जा संयोजक गुरुप्रसाद न्यौपाने दावी गर्छन् । टाट पल्टिन लागेको प्राधिकरणको संचित नोक्सानी मात्रै २९ अर्ब पुगिसकेको छ यो नोक्सान परिपूर्ती गर्दै विदेशी लगानी आकर्षित गर्दै लगानीमैत्री वातावरण र सुरक्षाको ग्यारेन्टी गर्न आवश्यक छ । निर्माणाधिन केही मूख्य जलविद्युत् आयोजना

चमेलीया ३० मेगावाट दार्चुला

तल्लो मोदी १० मेगावाट पर्वत

माथिल्लो सेती जलवाशयुक्त आयोजना १२७ मेगावाट तनहुँ

आँखुखोला ८४ मेगावाट धादिङ

रसुवागढी १०० मेगावाट सिन्धुलाल्चोक र रसुवा

कुलेखानी तेस्रो १४ मेगावाट

सेन्जेन ४२=५ मेगावाट रसुवा

सेन्जेन माथिल्लो १४ मेगावाट रसुवा

माइखोला १५=६० इलाम

हेवाखोला ५=५ मेगावाट संखुवासभा

माथिल्लो तामाकोशी ४५६ मेगावाट दोलखा

तल्लो इन्द्रवती ४.५ मेगावाट सिन्धुपाल्चोक

मध्यभोटेकोशी १०१ मेगावाट रसुवा

माथिल्लो त्रिशुली ३ ए ६० मेगावाट रसुवा

राहुघाट ३० मेगावाट म्याग्दी

सिउरीखोला ५ मेगावाट मनाङ

बिजयपुर ४.५ मेगावाट कास्की

कसरी बढ्दैछ विद्युत्को माग

सन् मेगावाट
२००२ ४२६
२००३ ४७०=३३
२००४ ५१५=२४
२००५ ५५७=५३
२००६ ६०३=२८
२००७ ६४८=३९
२००८ ७२१=७३
२००९ ८१२=५०
२०१० ८८५=२८
२०११ ९४६=१०

-पिताम्बर सिग्देल

0 thoughts on “हामी संधै अंध्यारोमा- लोडसेडिङमुक्त देश कहिले ?”

Leave a Reply to Rabin Cancel reply