काठमाडौंमा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा बीस गुण बढी प्रदूषण

काठमाडौं, दक्षिण एसीयाका शहरहरुमध्ये काठमाडौ र नयाँ दिल्ली सबैभन्दा धेरै वायु प्रदूषण भएका शहर हुन् । काठमाडौंमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड भन्दा २० गुण बढी प्रदूषण छ । विभिन्न कारणले हुने वायु प्रदूषणको असरले काठमाडौंबासी दर्जनौं स्वास्थ्यसम्बन्धी समस्या भोगिरहेका छन् । दक्षिण एसीयामा वायु प्रदूषणसम्बन्धी काम गरिरहेको नयाँ दिल्लीस्थित सेन्टर फर सायन्स एण्ड इनभाइरोमेन्ट –सिएसइ) ले हालै सार्वजनिक गरेको एउटा अध्ययन अनुसार दक्षिण एसीयाका ठूला २२ शहरमध्ये दिल्ली र काठमाडौं सबैभन्दा धेरै प्रदूषित शहर हुन् । काठमाडौंको वायु प्रदूषणको प्रमुख कारण सवारीसाधनबाट निस्कने धुवाँ नै हो । अस्तव्यस्त बाटोमा सवारीसाधनको बढ्दो चाँंपका कारण (पिएम १०) मान्छेको नाकबाट भित्र पस्ने धुलोको मात्रा बढेको बढ्यै छ । काठमाडौंमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २० गुणा बढी छ । यो मात्रा पछिल्ला दिनमा झन बढेको छ । पिएम १० को मात्रा नेपालमा एकसय २० हुनुपर्नेमा काठमाडौंका केही ठाउँंमा तीनसय ५० भन्दा माथी पुगेको छ । विश्व स्वास्थ्य संगठनले पिएमको मात्रा २० भन्दा माथी हुनु नहुने मापदण्ड तोकेको छ ।

केही बर्षअघि भएको एउटा अध्ययन अनुसार काठमाडौंमा सवारीसाधनले पिएम १० को मात्रा ३८ प्रतिशत ओगट्छ । यसैगरी सडकको धुलोका कारण २५, कृषिका कारण १८, इट्टाभट्टाका कारण ११, घरबाट ३, डढेलोबाट एक तथा अरु उद्योगबाट ३ र अन्य कारणले एक प्रतिशत प्रदूषण गराउंछ । पिएम १० र पिएम २.५ मानिसलाई विभिन्न रोग लाग्ने तथा मृत्युसम्म गराउने कारकका रुपमा लिइन्छ ।

काठमाडौं उपत्यकाका तुलनात्मक रुपमा जाडोयाममा धेरै वायु प्रदूषण हुन्छ । यो बेलामा पिएम २.५ को मात्रा सबैभन्दा धेरै मानव शरिरमा प्रवेश गर्छ । धुलोको यो सानो कण फोक्सोमा गाडिएर गम्भीर स्वास्थ्य समस्या उत्पन्न गराइरहेको दक्षिण एसीयाकी वायु प्रदूषणविज्ञ अनुमीता रोयचौधरीले बताउछिन् । उनका अनुसार जाडो यामका बेला पिएम २.५ को मात्रा काठमाडौंमा एकदमै धेरै भेटिन्छ । सन् २००८को तथ्यांक अनुसार काठमाडौंको पुतलीसडक, पूल्चोक, पाटन, भक्तपुर सबैभन्दा धेरै प्रदूषीत स्थान हुन् । त्यसपछि भने वायु प्रदूषण नाप्ने यन्त्र बिग्रिएका कारण तथ्यांक उपलब्ध छैन । सन् २००२ तीर काठमाडौंकै धेरै प्रदूषित स्थानका रुपमा रहेको भक्तपुरमा सन् २००३ देखि २००७ सम्म आइपुग्दा भने १२ प्रतिशतले घटेको थियो । त्यतिबेला परम्परागत रुपमा सञ्चालन भइरहेका इंट्टाभट्टा बन्द गरेपछि प्रदूषणको मात्रा घटेको वायु प्रदूषणविज्ञ भूषण तुलाधरले बताए । उनका अनुसार काठमाडौंमा पुराना सवारीसाधन जथाभावी सञ्चालन भइरहेका कारण पनि प्रदूषणको मात्रा बढेको हो । पछिल्ला बर्षमा काठमाडौं सवारीसाधन भित्रिने क्रम झन तिब्र भएको र सडकसमेत धुलाम्मे भएकोले प्रदूषणको मात्रा अकल्पनीय रुपमा बढेको हुन सक्ने आशंका बिज्ञहरुको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले सवारीसाधनको गुणस्त मापन गर्न नसक्दा प्रदूषणको मात्रा बढेको स्वीकार गरे । उनले भने, हामी जतिसक्दो चाँंडो सडकमा चल्ने सवारीसाधनको गुणस्तर नाप्छौं ।

सन् २००९ मा प्रकाशित एटमोस्फेरिक पोलुसन रिसर्च रिपोर्टका अनुसार काठमाडौंमा बाक्लो ट्राफिक समस्या र सांघुरो सडकका कारण काठमाडौंको जनजीवन नै अस्तव्यस्त भएको छ । वातावरण मन्त्रालयको एउटा तथ्यांक अनुसार नेपालमा बर्षेनी १६ सयभन्दा बढीको वायु प्रदूषणकै कारण मृत्यु हुने गरेको छ । स्वच्छ उर्जा नेपालले २००५ मा गरेको एउटा अध्ययन अनुसार काठमाडौंका करिव १५ लाख मानिसले श्वासप्रश्वाससम्बन्धी कुनै न कुनै समस्या झेलिरहेका छन् ।

काडमाडौंमा वायु प्रदूषणका कारण घामबाट प्राप्त हुने तापसमेत कमजोर हुन्छ भने बाक्लो हुस्सु लाग्ने गरेको छ । विश्व बैंकले गरेको अध्ययन अनुसार मानवीय स्वास्थयमा विभिन्न समस्या उत्पन्न हुनुका साथै एसिडयुक्त बर्षा पानी पर्ने संभावना पनि बढेको छ । बनस्पी तथा जीवजन्तुमा नकारात्मक असर पर्नुका साथ भिजिविलिटी समेत घट्छ।

काठमाडौंमा तिब्र शहरीकरणका कारण हिंडडुल गर्नसमेत अप्ठ्यारो परिरहेको विभिन्न अध्ययनहरुको निश्कर्ष छ । सेन्टर फर साइन्स एण्ड इनभाइरोमेन्टले दक्षिण एसीयाका शहरी क्षेत्रको वायु गुणस्तर र शहरको व्यवस्थापनका लागि हालै केही महत्वपूर्ण सुझावसमेत दिएको छ । सवारीसाधनले प्रयोग गर्ने तेलको गुणस्तर परीषण गर्नुपर्ने, युरो ४ मापदण्डका सवारीसाधन मात्रै भित्र्याउनुपर्ने, शहरी सवारी प्रणालीमा सुधार गर्नुपर्ने सुझाव दिइएको छ । बिज्ञहरुको टोलीले लामो अनुसन्धानपछि साइकल लेनको व्यवस्था गर्नुपर्ने, फुटपाथको निर्माण गर्नुपर्ने, सवारी पार्कि« नीति तय गर्नुपर्ने, नियमित रुपमा सवारीको प्रदूषण जाँच गर्नुपर्ने तथा सार्वजनिक सवारीलाई बढी भरपर्दो र व्यवस्थित बनाउन आवश्यक रहेको सुझाव दिएको छ । यातायात। भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसी सिटौलाले सरकारले सवारीसाधनको प्रदूषण नियमित रुपमा जाँंच गर्ने तथा युरो मापदण्ड बढाउने तयारी गरिरहेको बताएका छन् ।

Leave a Reply