जातिय आन्दोलन आत्मघाती नबनुन्

हामीले जाने बुझेको ईतिहास भनौ लेखिएको ईतिहास, किम्बदन्ती र परम्परा, सन्स्क्रिती र चाड पर्बको आधारमा भन्दा नेपालमा जातिय र क्षत्रिय बिभेद थियो र कुनै न कुनै रुपमा अझै पनि छ भन्ने कुरा घाम जस्तै छर्लङग छ । एकातिर देश र समाजको सामाजिक परिस्थिती अर्कोतिर राज्यद्वारा बितरण गरिने साधन र श्रोतको असमानताले समाजमा कथित उपल्लो र तल्लो जातका बिच आर्थिक, राजनीतिक, शैक्ष्यिक, भौतिक लगायतका क्षेत्रहरुमा हैसियत समान रुपमा स्थापित नभएको कुरामा पनि शायदै बिबाद होला । समान अबसरको अभाबमा हरेक जाती र बर्गको समान रुपमा उत्थान र बिकास हुने कुरा नै भएन । राज्यको सम्रचना केन्द्रित र एकाधिकारबादी भईदिदा एक दुई बाहेक तल्लो भनिने जातका मान्छे भान्छे हुने परिस्थिती थिएन । समाजमा कुनै जात वा जातिलाई नियतबस दबाइएको भन्दा पनि त्यो एउटा परम्पराको रुपमा लिइएको थियो । शिक्षाको कमीले गर्दा कथित तल्लो भनिने जातहरुमा पनि आफु माथि थिचो मिचो भएको महशुस थिएन । कर्मको खेल, पूर्वजन्मको पाप वा त्यस्तै दैबी कारणले आफु त्यो जात वा कुलमा जन्मनु परेको र त्यो भोग्नु नै ईश्वरको कृपा हो भन्ने गहिरो विश्वाश दलित र जनजातिहरुमा थियो । एक पुस्ता देखी अर्को पुस्ता सम्म परम्पराकै रुपमा चल्दै आएको थियो यो जातिय बिभेद ।

१०४ बर्से राणा शासन ढलेपछी २००७ सालको क्रान्ति पछी बिस्तारै धेरै थोरै जनतामा चेतनाको बिकास भयो । आन्दोलनकै रुपमा बिकास हुन नसके पनि २०४६ साल सम्म आइपुग्दा नेपाली समाज मन्द गतिमा रुपान्तरणको प्रकृयामा थियो । राजा र सम्भ्रान्त बर्ग र कथित उपल्लो जातको चाहना नहुँदा नहुँदै पनि शिक्षामा बढ्दै गएको पहुच, चेतना र अन्तररास्ट्रिय प्रभाबले तल्लो भनिने जातिका मान्छेहरु पनि शासनको वरीपरी कताकती देखिन थाले । समाजमा रहेको असमानता हटाउने, सबैलाई समान अबसर प्रदान गर्ने, उनिहरुका जातिय र क्षेत्रिय बिभेद जरै देखी अन्त्य गर्ने भन्दा पनि केही टाठा जनजाती वा दलितका नेतालाई पद र पैसामा भुल्यायर समस्यालाई अल्पकालिन रुपमा समाधान गर्ने प्रयत्न गरियो । त्यही ब्यक्ती छानेर पीडित जनताका आवाजहरु मत्थर पार्ने सिल्सिलामा थुप्रै जनजातिका र केही दलित नेताहरु समेत राजनीतिमा देखा परेको देखिन्छ । फोहोर सफा नगरी लाम्खुट्टे नियन्त्रण गरेर समस्या समाधान गर्ने प्रब्रिती जस्तै त्यो बर्ग माथिको भेदभावलाई कायमै राखी आफ्नो अभिस्ट पुरा गर्ने तर्फ सत्तासिनहरु लागे । तर बागमतिमा धेरै पानी बगिसकेको थियो । त्यस्तै चेतनाको फल्स्वरुप २०४६ सालको जन आन्दोलन सफल भयो । उक्त आन्दोलनमा हरेक तह, तप्का र बर्गका जनताले उत्साहपुर्बक भाग लिए । उनिहरु सबैले उक्त आन्दोलनलाई आफ्नै मुक्ती आन्दोलनको रुपमा सम्झेका थिए । जनताको त्यो अपार समर्थन र सहभागीतामा भएको आन्दोलनले पञ्चायत बिदा भयो । यहाँ सम्म आइपुग्दा बिद्रोह गर्ने अवस्थामा नपुगे पनि पिछडिएका जाती र बर्गमा आफ्नो हक र अधिकार प्रती अनौठो जागरण पैदा भईसकेको थियो ।

जातिय बिभेदको सिकार बनेका दलित र जनजाती, भेदभाव र क्षेत्रिय उत्पिडनको सिकार बनेका तराइबासी र कर्णालीबासिले सोचे अनुरुप २०४६ सालपछी पनि परिवर्तन भएन । न दलित माथि हुने अमानबिय व्यबहारमा परिवर्तन आयो न त क्षेत्रिय असन्तुलनको अन्त्य नै । फल्स्वरुप समाजमा निराशा उत्पन्न हुन थाल्यो । समाजमा बिद्यमान यिनै अन्याय र सत्ताधारिहरुको अकर्मन्यता र अन्त्रद्वन्दको फेरो समातेर माओवादी आन्दोलन सुरु भयो । माओवादीका असल र जनप्रिय कामले भन्दा पनि शासकहरुका कृयाकलाप र सामाजिक बिभेदले उक्त युद्ध फस्टायो । माओवादीको उपयोगीताबादी निति थाहा पाए पछी कतिपय माओवादी बाट छुट्टीयर त कतिपय आफ्नै हिसाबले जातिय र क्षेत्रिय मुक्तीको लागी शशस्त्र र निशस्त्र आन्दोलनहरु सुरु गरिए । समाज एक किसिमले बिखण्डित हुने खालका गतिबिधी हरु हुन थाले पछी जाती जाती बिच लडाईं नै भई नसके पनि तिक्तता बढेको छ । तराइ टुक्रिने देखी जातिय सन्तुलन भत्किएर गृहयुद्धको समेत खतरा देख्नेहरुको सङ्ख्या कमी छैन । लौ बर्बाद भयो, बाँच्न गाह्रो भयो, उपद्रो भयो जस्ता कुरा मिडियामा, चोक गल्ली र चिया पसलमा पढ्न, सुन्न र देख्न पाईन्छ ।

हो यस्ले समाजमा केही खल्बली ल्याउन सक्छ, तनाब ल्याउन सक्छ र सही समाधान हुन सकेन भने जातिय युद्धको समेत खतरा हुन सक्छ । दलित, जनजाती र पिछडिएका बर्गको माग लाई सही रुपमा सम्बोधन गरिएन भने समाज पक्कै बिखण्डित हुने खतरा ईतिहासमा सबभन्दा अहिले बढी छ । उठेको चेतनाको स्तर र लग्भग सबैको हातमा पुगेको हतियारको कारण त्यो स्थिती नहोला भन्न सकिन्न । त्यस्तो स्थितिबाट रोक्नको लागि सर्बपक्षिय, सर्बदलिय र सर्बमान्य सम्रचना खडा गरिनु पर्दछ जस्ले देशभित्रका सबै जात जाती बर्ग र क्षेत्रका जनताको अवाज र जायज मागहरु सम्बोधन गर्न सक्ने सर्बाधिकार पाएको होस् । सबैका जायज माग हरुलाई अग्रगामी सोच सहीत अनुमोधन गर्ने र नाजायज, बिखण्डनबादी र अतिबादी सोचलाई अस्विकार गर्ने हिम्मत सबैमा हुनु पर्दछ । अर्कोतिर समाजमा बाहुन क्षेत्रिहरुको सङ्ख्या र योगदानलाई नजरन्दाज गरिनु हुन्न । २१औ सताब्दिमा पनि खाली जातिय कुरा निकालेर सम्पूर्ण समस्या समाधान नहुन सक्छ । बिगतमा वा पुर्खाहरुबाट अन्जानमा वा नियतबसनै गरिएका गल्ती भए पनि त्यस्को सजाय अहिलेको पिढिले भोग्नु पर्ने अवस्था आउनु हुँदैन । एउटा पक्षलाई अधिकारसम्पन्न बनाउदा अर्को पक्षको हित बिपरित हुनु हुन्न भन्ने हेक्का राखिएन भने त्यस्ले अर्को बिद्रोह निम्त्याउन सक्छ जुन राष्ट्र र आम जनताको लागि हित्कर हुन सक्दैन । गलत परम्परा त्यागिनु नै पर्छ, अन्याय र अत्याचार बन्द गरिनु नै पर्छ, जातिय बिभेद अन्त्य हुनै पर्छ, क्षेत्रिय असमानता निमिट्यान्न पारीनु पर्छ जस्बाट सबै जात जाती र जनताको समान अधिकार स्तापित होस् । जाती जाती बिचको सद्भाव ब्रिद्धी होस्, समाजमा सबै अटाउन् । कसैले पेलिएको वा हेपिएको महसुस गर्नु नपरोस् सबैको चाहना यत्ती हो । आधुनिक नेपाली युबाहरुको आबाज यही हो जुनसुकै जात वा समुदायका भए पनि । तर ईतिहासमा पुर्खाहरुले गरेको गल्तीलाई कोट्ट्याएर सचेत नयाँ पिढिमाथी रिस पोख्नु पक्कै जायज मान्न सकिन्न । आउनुहोस् बिर्सौ पुराना कुरा, नयाँ ईतिहास रचेर नयाँ नेपाल निर्माण गरौ जहाँ सबै बाँच्न पाइयोस, सबै हास्न पाइयोस् अनी सबै नाच्न पाइयोस् । बिद्वेस, अपमान र घ्रिणाको गर्हौ भारी बोकेर शान्त, सुशिल र सभ्य नेपाल कदापी बन्न सक्दैन । सबैलाई चेतना होस् ।

लेखनाथ गौतम

यु यस ए

Leave a Reply