प्रवासमा – बिशुद्द नेपाली

नेपाली राष्ट्र भाषाको प्रबर्धन र सम्बर्धन, आफ्ना बिचार विमर्श तथा सम्प्रेषण गर्दा नेपाली शब्दहरुको अत्यधिक रुपमा प्रयोग गर्न सकियोस र अंग्रेजी भाषाको अतिक्रमणमा परको नेपाली राष्ट्र भाषा छायामा नपरोस भन्ने उदेश्य अनुरुप नेपालीमूलका नेपालीहरु तथा भाबी युवा पिढीहरुले नेपाली भाषा र शब्दहरुको ज्ञान संकलन गर्न सकुन भन्ने बिशुद्द उदेश्य अनुरुप थालिएको यो अभियानको यात्रा थाहै नपाई झन्डै दुई दशकमा प्रवेश गर्न लागेछ । उनीहरुलाई भाषाको महत्वबारे जानकारी दिने उदेश्य तथा बिलय हुदै गएका तमाम शब्दहरुको खोजी र प्रयोग गर्ने उदेश्य सहित थालिएको नेपाली भाषाको अभियान अन्तर्गत केहि कुराहरु पाठकवर्गसंग पस्किन मन लागि यस सन्दर्भमा कलम चलाउन सान्दर्भिक ठान्दछु ।बिशुद्द भन्ने शब्दको नै बिलय भै रहेको अवस्थामा नेपाली रास्ट्रिय भाषा कसरी बिशुद्द बोल्न सकिएला भन्ने प्रश्न उब्जिन सक्दछ र अर्थले अनर्थ नलागोस भन्ने मेरो चाहना छ । नेपाली भाषा अभियानमा होमिएको यो यात्रामा यो पंक्तिकारले क्षेप्यास्त्र खाएको तिता अनुभब यहाँहरुसंग राख्दा अन्याय हुदैन भन्ने लागेको छ ।

कुनै पनि नया चिजको शुरुवात मिश्रित रुपबाट आरम्भ हुन्छ र बिशुद्द नेपाली भाषा बोल्ने अभियानको प्रारम्भिक चरणमा हास्यको पात्र बन्नु परेको थियो। यहि सकारात्मक तथा नकारात्मक सुझाब र सल्लाह मार्फत अझ यो अभियानमा एक कदम अघि बढाउनु पर्छ भन्ने मान्यता अनुरुप कहिले पछि नफर्की अविरल यात्रामा लागि परेको यहाँहरु समक्ष जानकारी गराउदछु।

शुरुवात गर्न कठिन हुन्छ जब दृढ प्रतिबद्दको साथ अंग्रेजी भाषाको प्रयोग नगरी बिशुद्द नेपाली भाषा मात्र बोल्ने प्रयासको अभ्यास सुरु भयो । उदेश्य प्राप्त गर्न त्यति सरल हुदैन त्यसै कुरालाई मध्ये नजर गर्दै केवल केहि पाउनलाई पागल बन्नु पर्छ अनिमात्र सिद्धि प्राप्त हुने हुन्छ। यसको लागि बिभिन्न भाषा साहित्य व्यक्तित्वहरु र नेपाली भाषामा उल्लेखनीय भूमिका निर्वाह गर्नु हुने संग उठबस गरि अन्तरक्रिया गर्ने अभियान थालियो । वास्तबमा हाम्रो नेपाली भाषा खिचडी जस्तो भै सकेको वर्तमान अवस्थामा बिशुद्द नेपाली भाषाको अभिव्यक्तिले बिस्तारै मन जित्न सकिने जस्तो हुन् थाल्यो । जो यो अभियान समय सापेक्ष ठिक नहोला भन्ने अभिव्यक्ति दिने तिनै व्यक्ति तथा समुदायका सदश्यहरुले कालान्तरमा यो अभियानको सहयात्री हुन् थाले र काधमा काध मिलाई यो अभियानमा साथ दिने प्रतिबद्दता जाहेर गरे कारण बिशुद्द भावना अभिव्यक्त गर्दा नेपाली भाषा अति मिठास र माधुर्यता सुनिन्छ यहि पृष्ठ पोषण प्रति आफु सन्तुष्ठ भै यसैलाई निरन्तरता दिन आज परदेशमा पनि जस्तो सुकै परिस्थितिमा पनि भरसक नेपाली भाषा बोल्दा अंग्रेजी भाषा मिस्रित नहोस भन्ने हाम्रो चाहना हुन्छ । यसै अनुसार आफु परदेशमा भए पनि अध्ययन र अनुसन्धान लाग्नु परको छ र समय व्यवस्थापन गर्न हम्मे हम्मे भए पनि निरन्तर कलम चलाउनु पर्छ भन्ने मान्यता छ ।

आफुले यो अभियानको शुरुवात गर्दा शुभ प्रभात भन्दा गुड मार्निंग भन्ने अधिकांश जवाफ पाईयो, दूरसंचार कार्यलयलाई टेलीफोन अफिस भन्दा सरल मान्ने भयो , रिकापी भनि माग्दा प्लेट सरल भयो, ग्यारन्टी भन्दा सबैले बुझ्न सजिलो तर प्रत्याभूति भन्दा अनर्थ हुने भयो, पाठशाला भन्दा पाखे हुने भयो, तर स्कूल भन्दा यात्रा तत्र सर्वत्र ,गृहकार्य भन्दा होमवर्क स्वीकृति भयो ।बिशाल बजार उच्चारण गर्दा अनौठो लाग्ने तर सुपर मार्केट भन्दा आ -गर्दा अलंकार बुझ्ने, मुल्य अभिवृद्धि कर भन्दा भ्याट तु सरल भो, चक सबै बिद्यार्थीको प्यारो वस्तु तर खरी कहाँ गयो ? यसरि दिन प्रतिदिन अंग्रेजी भाषाको प्रयोग भयो भने भोलि नेपाग्रेजी (अर्थात् नेपाली र अंग्रेजीको समिश्रण) को दबदबा निश्चित छ र भावी पिढीले नेपाली शब्द प्रयोग गर्नबाट बन्चित मात्र हुदैनन कि नेपाली शब्द नै होईन भनेर प्रतिबाद गरेको हामीले देख्ने छौ ।

साईन बोर्ड सबैले बुझ्ने भए तर सुचना पाटीमा अधिकांश अल्मलिने भयो अनि भाषाको कसरि उन्नति हुने भयो? जनै पुर्णेमा खाने क्वाटी सरह हुने भयो ।यति मात्र नरही गाउ घरमा मेलापातमा चलेका ठेट शब्दहरु संकलन गर्ने कार्यको शुरुवात पनि यो स्तम्भकारले नगरेको चाही हैन र संकलन गर्दै प्रयोगमा ल्याउने कोसिस भयो तर यसको यात्रा कै क्रममा आफु यो मुलुक स-परिवार नै बसाई सराई गर्नु परेको र मुखमा माढ लगाउन धौ धौ हुने परिस्थितिमा यो अभियानलाई केहि समय चौतारीमा बिसाउनु पर्यो ।

अभियानलाई अर्को मोड दिनु पर्छ भन्ने सोचाई अनुरुप बिशुद्द नेपाली भाषा बोल्ने र यदि नेपाली भाषाको बदलामा अंग्रेजी भाषा मिसाईयो भने एक शब्दको पच्चीस पैसा दण्ड तिर्नु पर्ने र मैले एक शब्द पनि गल्ति गरे भने एक रुपैया तिर्ने सर्त अनुरुप सहभागी गराउन थालियो र आर्थिक लाभ पनि भयो ।यसरि कुनै पनि भाषा बोल्दा सके सम्म र सकिने अवस्था छ भने एउटा मात्र भाषा बोल्ने र सकभर मिस्रित नगर्ने अभियानको थालनीलाई मनोरंजन रुपमा लिदै भए पनि नेपाली राष्ट्रिय भाषामा सतर्कताको साथ प्रचार र प्रसारमा मदद पुग्यो ।दिन प्रतिदिन सहभागीहरुको संख्या पनि क्रमस बृद्दी हुदैँ गयो ।

प्रारम्भिक चरणमा मनोरंजन रुपमा स्थपित भएको कालान्तरमा गम्भीर रुपमा लाने प्रतिबद्दताको साथ यो अभियान जिवितै रहको छ ।फेरी मेरै गोरुको बार्है टक्का भन्ने चै कदापी हैन र हुदैन पनि किनभने कसैलाई मन पर्छ कसैलाई मन नपर्न सक्दछ । परदेशमा पनि नेपाली भाषाको प्रवर्धन र सम्बर्धन गर्न असंख्य संस्थाहरु तथा व्यक्तिहरु लागि परि रहेका छन ।वाशिंगटन डिसीबाट संचालित नेपालीपोस्ट डटकम र क्यानाडाबाट संचालित खबर सम्प्रेषण नेपाली भाषाको सम्बर्धन र प्रवर्धन गर्ने बिधुतिय संजाल अर्थात् (अनलाईन )को प्रयास अत्यन्तै सराहनीय छ र सके सम्म नेपाली भाषाको शब्दको खोज गरि अनुवाद गरेको र भरसक सबै शब्दहरु नेपाली भाषा मै लेख्ने प्रयास गरेको देखिन्छ ।क्यानाडाको खबर सम्प्रेषण द्वारा घरमा सधै नेपाली बोलौ र भाषा रहे हामी रहन्छौ भने मूल नाराले समाजलाई एक संदेश दिएको छ । यो अनुकरणीय कार्य प्रति सबैले प्रसंशा गर्ने पर्छ ।

भनीन्छ अभ्यासले मानिसलाई पूर्ण त बनाउछ ,बिशुद्द नेपाली भाषा बोल्ने भनेको पनि यस्तै रहेछ ,धेरै पहिले मातृभाषा संस्कृत भएका ब्राम्हणहरु धनकुटाको कुनै धार्मिक कार्यक्रममा गएको बखत उनीहरुसंग चर्चा परिचर्चा हुदा म पनि बिशुद नेपाली भाषाको अभियानको एक योद्दा भनि बिचार सम्प्रेषण हुदा मात्री भाषा संस्कृत भएका ब्रामण सहभागीले पनि अंग्रेजी मिसाई बोलेकोले सर्त अनुसार दण्ड जरिवाना स्वरूप केहि रकम आफुले कुम्ल्याएको अहिले जस्तो लाग्दछ ।त्रिभुवन बिश्वबिद्यालयमा नेपाली भाषा विभागका एक मुर्धन्य प्राध्यापकसंग पनि भला कुसारी हुदा वहाबाट अत्यधिक अंग्रेजी भाषाको प्रयोग गरिएको पाईयो र मुद्राको सर्त लगाउनेको लागि प्रस्ताब राख्दा अभ्यासको जरुरि हुने रहेछ भने दुवैले ठहर गरयौ।हामी सबैले नेपाली भाषालाई माया र आत्मसाथ गरेमा हामी आफ्नो नेपाली भाषालाई कहिले पनि मुर्झिन दिने छैनौ भन्ने प्रतिबद्दता जाहेर हामीले गर्न सक्यौ भने हाम्रो नेपाली भाषा सदा कालजयी हुनेछ ,फस्टाउने र मौलाउने छ ।

Bijay Thapaविजय थापा

हाल भर्जिनिया, संयुक्त राज्य अमेरिका

Leave a Reply