प्राण त्याग्न सरल तर भाषा त्याग्न कठिन!

यो शिर्षकले यहाँहरुको मस्तिष्कमा थुप्रै सवालहरु उब्ज्याउँन सक्दछ । यसलाई अर्थ्याउनु मेरो धर्म हुन्छ । प्राण त्याग गर्ने समय होस् या आर्यघाटमा पुर्याईएको समय अथवा तुलशी पानी दिदै गरेको अवस्थामा होस्, हे भगवान ! हे ईश्वर ! राम राम, साई राम आदि ईत्यादी शब्दहरु देह त्याग्ने व्यक्तिले उच्चारण गरेको देख्न पाईएको छ । धर्म शास्त्र अनुसार यसो गर्न लगाईन्छ । भाषा हरेक राष्ट्रका मानिसलाई आफ्नो देह भन्दा पनि प्यारो लाग्न सक्दछ । नेपाली रास्ट्रिय भाषा -हाम्रो पहिचान र राष्ट्रको गौरब हो । भावनात्मक रुपमा हाम्रो साईनो गासिएको हुन्छ । भाषालाई स्वदेश होस् या विदेश जहाँ गए पनि सबैले उतिकै प्रेम, सद्भाव र श्रदासाथ अङ्गीकार गर्नु पर्छ । के परदेशमा बिशुद्द नेपाली भाषा बोल्ने र लेख्ने सम्भब होला त ? के विदेशमा नेपाली समुदाय भित्र यो सम्भब छ त ? यो प्रश्न म पाठकवर्गलाई जिम्मा दिन चाहन्छु । यो पंक्तिकारले बेला बखत कलम चलाउदै पटक पटक भाषा सम्बन्धि लेखहरु बिभिन्न संचार माध्यममा प्रकाशित गर्दै आई रहेको छ । जहिले पनि लेख लेख्दा बिशुद्द नेपाली भाषा मात्र प्रयोग गर्नु परोस भन्ने अभिप्रायले सदैब सतर्कताको साथ कलम चलाउदै आएको छ । आफु भाषा बिज्ञ र भाषा शास्त्री पनि हैन किनभने भाषाको सम्बर्धन र प्रबर्धन गर्न हरेक नेपाल आमाका सन्तानको उतिकै जिम्मेबार र दायित्व हुन्छ । बिशेष योग्यताको आवश्यकता हुनै पर्ने भन्ने शास्त्रमा लेखेको हुदैन तर व्यापक ज्ञान, दक्षता, अनुभव, सोध, खोज र शिक्षा प्राप्त हुनु पर्ने चाही अपरिहार्य हुन्छ जस्तो मेरो बिबेकले ठान्दछ ।

अहिले सम्म जति पनि आफुले लेखेको लेख छापिएको छ, कतै पनि एक शब्द पनि अंग्रेजी शब्द शायद मिसिएको छैन होला भन्ने मेरो विश्वास छ । यदि कुनै कारण अंग्रेजी शब्द प्रयोग गरिएको रहेछ भने पनि पाठक वर्गलाई बुझ्न सरल होस् भनि अर्थ लगाउनको निम्ति मैले प्रयोग गरेको हुन् पनि सक्दछ । कतै म चुकेको पनि हुन् सक्दछु । नेपाली बोल्दा अंग्रेजी नमिसाई केवल नेपाली भाषाको मात्र प्रयोग गर्ने र अंग्रेजी भाषा बोल्दा अंग्रेजी मात्र बोल्ने कुनै पनि व्यक्ति यो पंक्तिकारले विश्वमा कतै पनि नसुनेको, नदेखको र नपढेको हुनाले बिश्वभर यत्र तत्र छरिएर रहेका नेपाली दाजुभाईहरु मध्ये कसैले पनि जानकारी दिन सके कृतज्ञता ज्ञापन गर्ने छु । यो अभियानमा परदेशमा आफुलाई एक्लो भएको अनुभूति हुनु स्वाभाविक हुन्छ । यो पंक्तिकारको मूल उदेश्य नै नेपाली समुदायसंग केवल नेपाली भाषामा मात्र वार्तालाव गर्ने र बिदेशी समुदायसंग त प्रश्न नै भएन अंग्रेजी नै चल्ने भो । मिसाउन निषेध अर्थात् छास्मिसे नगर्ने प्रतिबद्दता, मिश्रीत भएमा भाषामा मिठास हराउने र सुन्दा आनन्दको अनुभूति नहुने हुन्छ । अंग्रेजी भाषालाई अपहेलना भन्ने चै कदापी हैन अंग्रेजी भाषालाई पनि उतिकै मान्यता दिने किनभने यो बिना परदेशमा जीविकोपार्जन गर्ने सकिदैन् र अपरिहार्यता हुन्छ नत्र आफ्नै स्वदेश फर्कनु पर्छ । अंग्रेजी भाषाले ब्रम्हाण्ड नै कब्जा गरेको हुनाले नेपाली राष्ट्र भाषालाई पनि उतिकै रुपमा प्रयोग गर्ने अभिप्राय हो । समानान्तर रुपमा दुवै भाषालाई लैजान सके हाम्रो भाषाको बिकाश हुन्छ ।

यो पंक्तिकारले दुई दसक देखि निरन्तर रुपमा बिदेशी नागरिक बाहेक सम्पूर्ण नेपाली मूलका सबैसंग केवल सचारको माध्यम नै नेपाली भाषा अपनाउदै आएको छ भन्दा यहाँहरुलाई आश्चर्य लाग्न स्वाभाविक हुन्छ र कुनै पनि लेखमा अंग्रेजी नमिसाउने प्रतिबद्दता रहेकोले र सके सम्म बिशुद्द नेपाली भाषा मात्र बोल्ने र लेख्ने भिष्म प्रतिज्ञा रहेको छ । यो अवस्था सम्म आउनको लागि केवल प्रशस्त अभ्यास र दृढ संकल्प हुनु पर्ने आफ्नो अनुभब रहेको छ । तर पनि भर्खर बामे सर्ने अवस्थामा छु ।

अर्को रमाईलो पक्ष यो पंक्तिकारले कुनै पनि नेपाली मूलका कुनै पनि नागरिकसंग अंग्रेजी भाषामा बिचार विमर्श नगरेको भन्दा अपत्यारिलो लाग्न सक्ला तर यो यथार्थता हो । यो पंक्तिकार नेपालमा रहदा भारतीय मूलका कुनै पनि व्यक्तिसंग केवल नेपाली भाषा मै बोल्ने प्रयास गर्ने गरेको जानकारी गराउन पाउदा हर्ष गर्दछ । आफुले हिन्दी बोलि दियो भने उसले नेपाली भाषा बोल्नबाट बन्चित हुने र मौका गुमाउने हुनाले यो अभियान तिब्र पार्नु परेको थियो । तर बहु भाषा कट्टर बिरोधि चाही पट्टकै हैन । जति भाषाको ज्ञान लिन सक्यो त्यतिनै बौद्धिक बृद्दी हुन्छ र मस्तिष्क फराकिलो हुने हुन्छ । खप्तड स्वामी र देवकोटा बहु भाषाका धनि थिए । सुर्योदय देखि सुर्यास्त सम्म हामी नेपालीलाई अंग्रेजी भाषा मात्र बोल्न बाध्य हुने देश देश सयुक्त राज्य अमेरिकामा पनि केवल बिशुद्द नेपाली भाषामा, अर्थले अनर्थ नलागे, नेपाली समुदायसंग बोल्ने र लेख्ने गरेको जानकारी गराउदा आफु गर्व गर्दछु किनभने यो एक अभियान हो ।

नेपाली मूलका मानिस बिभिन्न कारण मुलुक छोडेर गए पनि हर सम्भब घर भित्र या आफ्नो समुदायमा नेपाली भाषा नै प्रयोग गर्न सके भाषा कहिले पनि नहराउने र नमेटिने हुन्छ । यस्को अपमान प्रति वीर नेपाल आमाका सन्तान कुनै पनि चुनौती लिन तैयार हुन्छन । झन्डै करौडौ नेपाली परदेशमा सबै प्रकारका जीवन यापन गरि रहेका भएता पनि हाम्रो आत्मियता पस्कने माध्यम नै यहि नेपाली राष्ट्र भाषा हुन्छ । यसले नेपालीपन र नेपाली मनको माहौल तैयार गरि दिन्छ । हामी खुशी हुन्छौ कारण त्यहाँ एउटा राष्ट्रियता गासिएको हुन्छ । राष्ट्रियताको ब्याख्या प्रति म होमिन चाहन्न किनभने यस्को दायरा बिशाल छ तर पनि भाषाले राष्ट्र प्रेम र नेपाल आमा प्रति भक्ति जागृत गरेको देखाऊदछ ।

नेपाली भाषा यत्र, तत्र र सर्बत्र छ र हाम्रो चिनारी नै नेपाली भाषा हो । यो यस्तो प्रिय हुन्छ कि नेपाली भाषाको विपक्षमा वकालत गर्ने बितिकै हाम्रो कन्सिरी झनक्क तात्दछ किनभने हामी राष्ट्र भाषा प्रति कुनै आंच आउन दिदैनौ । धब्बा लगाउन खोज्ने जो सुकै प्रति पौठी जोरी खेल्न तैयार हुन्छौ । यो हाम्रो धर्म हो । हाम्रा पुर्खा प्रति हामी सम्मान गर्न चाहन्छौ उनिहरुले नै देशको अस्मिता बचाए । नेपाली रास्ट्र भाषाको आक्रमणलाई जीवित राख्न सक्यौ नत्र अंग्रेजले नेपाल आमा प्रति गिद्दे दृष्टि लगाई सकेको थियो केवल ढुंगा, मुढा र रास्ट्रिय हतियार खुकुरीको भरमा अंग्रेजलाई लज्जाजनक पराजित गरि धबाएको कारण आज सम्म पनि हाम्रो नेपाली राष्ट्र भाषा छाती फुकाएर र गौरबको साथ प्रयोग गरि रहेका छौ । अंग्रेजले उपनिवेश बनाएको कुनै पनि मुलुकमा जबर्जस्ति भाषा थोपरी स्वतन्त्र राष्ट्रको भाषालाई नै संकटमा परेका कैयौ मुलुकहरु छन ।

सवाल यो पनि उब्जिन सक्दछ कि अंग्रेजले मुलुक उपनिवेश गरि दिएको भए सम्पूर्ण नेपालीको अंग्रेजी भाषा अत्यन्तै राम्रो हुने थियो । २१ औ शताब्दीमा प्रतिस्पर्धाको लागि नेपालीहरु सरल रुपमा मैदानमा उत्रिने थिए, यो कुरा जुन देशमा अग्रेजले शासन गरे त्यो देशका व्यक्ति हाम्रो मुलुकका नागरिक भन्दा उनीहरुको अंग्रेजी भाषा निश्चित रुपमा केहि राम्रो होला भन्ने ठान्दछु तर उनिहरुले मुक्ति पाउनको लागि गरेको संघर्षको भयनाक र दर्दनाक ईतिहास सुन्दा नै कहाली लाग्दो हुन्छ, हामी कसैको उपनिवेश भएर बाचेनौ यसमा हामीले गर्व गर्नु पर्दछ नत्र हाम्रो भाषा खिचडी हुने थियो । सदाको लागि हामीले ठुलो पिडा भोग्नु पर्ने थियो । नेपाली नभै नेपाग्रेजी हुने थियो । आधा अंग्रेजी -आधा नेपाली, जनै पुर्णेको क्वाटी जस्तै हुने थियो ।

सबैले हाम्रो भाषा, संस्कृति, परम्पराको सम्बर्धन र प्रबर्धन गर्नु पर्छ । बिदेशमा रहेका बालबालिका तथा विदेश मै जन्मिएका नेपाली मूलका सबैलाई अझ सतर्कताको साथ भाषा सम्बन्धि ध्यान दिनु पर्ने अहिलेको सबैभन्दा ठुलो चुनौती रहेको छ । विदेशमा पनि नेपाली भाषालाई अंग्रेजी सरह उतिकै प्राथमिकता दिएनौ भने यस्ले ठुलो दुर्घटना निम्त्याउने छ । यसको एउटा मात्र ओखती भनको घरमा सदैब आफ्ना सन्तानसंग नेपाली बोल्ने गरेमा नेपाली भाषा कहिले मुर्झाउने छैन र कालजयी रही रहने छ । नेपाली शब्दको ज्ञानको कमि हुन् गै अंग्रेजी भाषाको प्रचुर प्रयोग भै अंग्रेजी भाषाको मात्र बोलबाला हुन् केहि समय लाग्दैन । यहि दुखद अवस्थाबाट हामी अहिले गुज्रिएका रहेका छौ ।

नेपाली भाषा बोल्दा सक्दो नेपाली भाषा र नेपाली शब्दहरुको प्रयोग मात्र गर्न सके र बोल्न उत्प्रेरणा गर्न सके भाषाको उन्नति हुने कुरामा दुई मत नहोला भन्दै यो संदेश पृथ्वी भरि छरिएर रहेका सम्पूर्ण नेपाली मूलका सबैलाई यहि संदेशको बिउ छर्दै कालान्तरमा पुन: कलम चलाउने प्रतिज्ञा गर्दै नेपाली भाषा अझ फक्रियोस भन्ने शुभ शब्द सहित बिदा !

विजय थापा

हाल भर्जिनिया, सयुक्त राज्य अमेरिका

Leave a Reply