बधाई छ मित्रहरु – सन्दर्भ एएनए अधिवेशन २०१४

basant

बसन्त श्रेष्ठ ,भर्जिनिया, अमेरिका

एएनए को ३२ औं बार्षिक सम्मेलन भर्खरै सम्पन्न भएकोछ | तिन दिन सम्म बिभिन्न कार्यक्रमहरु गरेर सम्पन्न भएको यो सम्मेलनले हामि भित्रको सामाजिक विसंगति र हाम्रो नैतिकताको डोरी प्रष्ट रुपमा तानेको छ | सम्पूर्ण कार्यक्रमहरु निर्बाध रुपमा निर्धारित समय र स्थानमा भब्य रुपमा सम्पन्न भए तापनि अनुमानित अनुसारको भींड यस सम्मेलनले जम्मा गर्न सकेन | यो सत्य हो कि यसका बिबिध कारणहरु ले गर्दा नै हाम्रो नैतिकताको दायरा कतिसम्म फराकिलो छ भन्ने कुरा अब हामीले सोच्ने बेला भएकोछ | कुनै पनि संस्था आफै मा खराब र राम्रो हुदैन व्यक्तिको सोचाई, गराई र उनको प्रवृतिले संस्थाको मुल्यांकन गरिन्छ | त्यसैले कुनै पनि संस्थामा केहि खराबी आयो भने व्यक्ति जिम्मेदार हुन्छ संस्था हुदैन | त्यसैले हामीले प्रश्न उठाउने र बिरोध गर्ने भनेको त्यसको प्रवृति र त्यसलाई संचालन गर्ने व्यक्तिको हो | तसर्थ फल राम्रो संग फल फलेन भनेर रुख काट्ने प्रवृतिको बिकास होइन मल हाल्ने सोच लाई कायम गर्न सक्नु पर्छ | सौताको रिसले पोइको काख भिजाउने प्रवृतिले हामि अघि होइन पछी सर्ने समुहमा आबद्ध हुन् पुग्नेछौं |

सन् १९९७ साल देखि एएनए को प्राय हरेक गतिविधिको साँक्षीको रुपमा म आबद्ध हुदै आएको छुं | प्रत्येक बर्ष अमेरिकी स्वतन्त्रता दिबश को दिन जुलाई ४ मा गर्ने यस संस्थाले आफ्नो बार्षिक अधिबेशन अहिले अमेरिका बासि सम्पूर्ण नेपाली हरुको सांकृतिक पर्ब र परम्पराको रुपमा बिकसित बन्दै गैरहेकोछ | अमेरिका बासि नेपालीहरुले बर्ष भरिमा लामो छुट्टी मनाउने समय र स्थानको बारेमा अधिकांस ले एएनए को बार्षिक अधिबेशन स्थल रोज्ने गरेका छन् | आफ्नो पुरा परिवार सहित यसका बिभिन्न कार्यक्रमहरुमा कुनै उत्सब या पर्वको हिसाबले उपश्थित भएर रमाइलो मनाउने गर्छन | टाढा टाढाका इष्टमित्र, आफन्त र परिवार संग भेट्ने सुअवसर पनि यहि अधिबेशन ले नै प्रदान गरेको कुरा निर्बिबाद सत्य हो | यस सम्मेलनले नेपाली भाषा, परम्परा र संस्कृति झल्कने बिभिन्न कार्यक्रम गरेर सबैलाई शिक्षा, ज्ञान र मनोरंजन प्रदान गर्दै आईरहेको छ | यसरि यस संस्थाले आफ्नो पुरा बयस्कमा पदार्पण गरेर ३२ बर्षमा प्रवेश गरेको छ |

सन् २००९ मा यस संस्था ले यथाश्थितिबादी र पराम्पराबादी सोच लाई त्यागेर नया सोच र विचार लाई अङ्गीकार गर्ने थुप्रै कार्यक्रमको तर्जुमा गर्ने जमर्को गर्यो | सबै क्षेत्र र बर्ग लाई समेटेर विकासशील र सहयोगी एएनए संस्था बनाउने त्यस सोचको परिकल्पना गरिएको थियो | थुप्रै बर्गीय भात्री संगठनहरु निर्माण गरिएको संगठन मध्ये म आबद्ध भएको “एनए नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिका” पनि एक हो | यस प्रतिष्ठानले भाषा र साहित्यको प्रबर्धन र बिकासको लागि बिभिन्न कार्यक्रमहरु आयोजना गर्ने गर्दछ जो आज सम्म निरन्तर रुपले सम्पन्न गर्दै आईरहेको छ |

यसरि बिकास र नया सोच बोकेर लम्किएको एएनए को सन् २०१० बोस्टन मा भएको बार्षिक अधिबेशनमा भएको आर्थिक घाटा ले यस संस्था लाई पुरै धारासायी बनायो | आरोप / प्रत्यारोप, बाद / बिबाद ले घर भित्रको समस्या र झगडा घर भित्र मात्र सिमित नरही अदालत सम्म पुग्यो | र आज पर्यन्त यस संस्थाले गर्ने हरेक क्रियाकलाप र निर्देशन अदालत बाट गठित निकाय ले गर्ने गर्दछ | यस बिषयमा बिभिन्न चरणमा बिभिन्न व्यक्तिहरुको सानो ठुलो गल्ति नै भए तापनि अक्षम्य अपराध त कसैले गरेका थिएनन अनि समस्याको समाधान पनि कदापी हुनै नसक्ने थिएनन | आफ्नो अहम् र जुँगाको लडाई ले उत्तर अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरुको साझा संस्था एएनए बिबादित बन्दै गयो |

बिबादको बाबजुद पनि यस संस्था लाई जिबन्तता प्रदान गर्न प्रत्येक बर्ष यसको अमेरिकी स्वतन्त्रता दिबसको दिन बार्षिक सम्मेलन भै नै रहेको छ | तर त्यसको बिपरित केहि व्यक्तिहरु यस्ता सम्मेलन लाई बहिस्कार गर्दै असफल पार्न उद्धत र प्रतिबद्ध भएर लागेका छन् | घर भित्रको झगडा घर भित्र मिलाउनु पर्ने सर्बमान्य सिद्धान्त लाई त्यागेर घर भित्र पस्दै नपस्ने ब्यबहार देखाउनु यो काहाँ सम्मको औचित्यता हो बुझ्न कठिन छ | के कुनै दुइ दाजु भाई को झगडा हुँदा दशैंको बेला बाबुको हात बाट टिका थाप्न कुनै छोरा दाजुको त्यस घर भित्र नै पस्दैनन् र ? कुनै वृक्षमा फल लागेन भन्दैमा के त्यो वृक्ष नै काटेर फाल्नु ठिक हो र ? तर आज त्यहि स्थिति यस संस्था भित्र भै रहेको छ |

एएनए को यो ३२ औं बार्षिक अधिबेशन संस्थाको निरन्तरता र अग्रगामी प्रजान्त्रिक तवर बाट सम्पन्न हुन् लागेको चुनाबको तयारीको सिलसिलामा भएको थियो | तर केहि मित्रहरुले यस अधिबेशन लाई पहिला जस्तो बहिस्कार मात्र गरेनन घर घर मा फोन गरेर बहिस्कारको लागि दबाब सिर्जना गरे | अबैधानिक भनेर नाना भाँतीका आरोप लागाएर यसका स्वयमसेवक हरुमा अनर्गल दुस्प्रचार गरे | अमेरिकी स्वतन्त्रता दिबसको अबसरमा एएनए ले गर्ने अधिबेशनको समयमा आज सम्म भनौ एकतिस बर्ष सम्म पनि कुनै नेपाली कार्यक्रम नभएकोमा यसपटक भने एनआरएन भन्ने संस्थाले न्यु योर्कमा त्यहि समय पारेर आफ्नो कार्यक्रम राखे | अधिबेशन शुरु हुन् अघि राजनैतिक उद्देश्यले प्रेरित व्यक्तिहरुको षड्यन्त्रमुलक छापा प्रचार बाजी गरेर आम साधारण मानिसहरुमा भ्रमको खेति गरे | अधिबेशन स्थल कै अघिल्तिर व्यक्तिगत मुनाफाको लागि सस्तो रकममा मनोरंजन प्रदान गर्ने निजि ब्यबसाय खोलेर आम नेपाली कै बेईज्जत पूर्ण ब्यबहारको खुल्ला प्रदर्शन गरे |

एएनए एक मुनाफा रहित सामाजिक संस्था हो | यस अधिबेशन बाट आएको निश्चित रकम हामि सबैको “पशुपति बुद्ध मन्दिर” मा जाने गर्छ | तर अधिबेशन स्थल कै अगाडी एउटा नेपाली ले सस्तो रकममा मनोरंजन प्रदान गर्ने निजि ब्यबसाय खोल्नु कतिको उचित हो | के यो सम्पूर्ण नेपालीहरुकै इज्जत र नैतिकताको ह्रास होइन र ? यस्ता करतुत लाई बढावा दिने हाम्रा कस्ता बुद्धिजिबी | यी माथिका बिभिन्न कारणहरु र दुषित मनसाय राखेर षड्यन्त्रपूर्ण कार्यहरुले गर्दा यस पटकको एएनए अधिबेशन सोचे जस्तो र स्वयंसेवकले चाहे जस्तो हिसाबले सफल पार्न सकिएन यो सत्य हो | ति सबैका पछाडी ति बिभिन्न कारणहरु छन् |

एएनए संस्था अझ सम्म बिबादित र समस्या कै रुपमा रही रहनुमा केहि राजनैतिक तत्वहरुको घुसपैठ भएको लाई पनि मानु पर्ने हुन्छ | हामि सबै हाम्रो देशको अस्तव्यस्तता. लथालिंग र भ्रष्टाचार मौलाएको देशको राजनीतिलाई दोष दिन्छौ | अनि हामि देशमा बस्न नसकेर अवसरको खोजि भनेर प्रबासिन्छौ | तर फेरी प्रबास मा पनि उही आफ्नै देशको राजनैतिक पार्टीका झन्डाहरु यहाँको सामाजिक संघ संस्था हरुमा झुण्ड्याएर हामि मख्ख पर्छौं | थाहा छैन हामि देशको समस्या सामाधानको लागि यहाँ झन्डा फहराउछौ या यस प्रबासमा कुनै राजनैतिक नेताका चाकरीमा झन्डा उठाउछौ | बुझी नसक्नु छ | अहिले त्यहि राजनीतिले गर्दा यस क्षेत्रका सम्पूर्ण सामाजीक संघ संस्था हरु बिभिन्न खेमा मा विभाजित बनेर तहस नहस बन्न पुगेका छन् | कुनै एउटा कार्यक्रम पनि भब्य र सभ्य बन्न नसकेको थुप्रै समय भै सक्यो | अब बाँकी यहि एउटा भर्खर खुलेको एनआरएन र एएनए भन्ने संस्था बाँकी थियो त्यो पनि मित्रहरुले भ्याई दिनु भो | त्यसको लागि पनि बधाई छ |

अन्तमा- स्वामी बिबेकानन्दले भनेका छन् “राम्रो काम गर्ने लाई सके साथ् देऊ नसके हौसला बढाउ तर आफ्नो स्वार्थपूर्तिको लागि झुठो लान्छना लगाएर अपमानित नगर | अन्यथा ढिलो चांडो अपहेलना खेप्नु पर्ने पालो तिम्रो पनि आऊछ् |”

त्यसैले कुनै पनि काम बनाउनुको लागि या भनौ सफलता प्राप्त गर्नको लागि लामो समयको आबश्यकता पर्दछ तर बिगार्नको लागि छोटो समय नै प्रयाप्त हुन्छ | एएनए को यस अधिबेशन पछी थुप्रैको मन भाँचिएको छ | टुक्रिएको हिर्दय र भाँचिएको मन एकै झट्कामा जोडिन सक्दैन | व्यक्ति र प्रवृतिको बिरोध गर्नुको साटो न रहे बाँस न बजे बाँसुरी भने झैं गरि यस संस्था लाई नै धरासायी पार्न खोज्नु निसन्देह बुद्धिमानी हुदै होइन | यो त सौताको रिसले पोईको काखमा सु गर्नु जस्तै होइन र ? त्यसैकारण संस्था बिगार्न उद्धत हुने, सम्मेलन असफल पार्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा सघाउने र आम जन मानसमा नराम्रो बिचार सम्प्रेषण गरि यस सम्मेलनलाई असफल पार्न उद्धत हुने सबै मेरा मित्रहरुलाई बधाई !

अस्तु !

 

 

Leave a Reply