स्तब्ध!!!!

त्यो खुल्ला सडक मेरो लागि आगन हो, सडकका पेटी मेरो पिंडी, अनि पाटी र चौतारा मेरो आफ्नो घर । रुदै आएथे यस संसारमा, आज पनि रुदैछु, लाग्छ भोली पनि रुदै बित्नेछ र एकदिन रुदै यस संसारलाई त्याग्नेछु । के त्यतिबेला मेरो शारीरमा दागबत्ति दिने कोही होलान् त? मेरो लागि यो ठुलो प्रश्न चिन्ह, तर अरुका लागि यो तुच्छ हुन सक्छ । आज त मेरो साथमा कोहि छैन भने भोलि को होलान् र! सबैले गल्लीमा मरेका कुकुर बिरालाको संज्ञा दिनेछन् मलाई!

मान्छेले नै भन्ने गर्थे दुख पछि सुख अवश्य आउछ भनेर, तर खै कहाँ छ त्यो सुख? मेरो लागि त सुख “आकाशको फल आँखातरी मर” तुल्य भएको छ । मेरो जीवन एक सरो लुगा त परै जावोस मुखमा माड लाउन पनि गारो छ मलाई – म एक्लोलाई । त्यो एक सरो लुगा पनि पोहोर बिष्णुमतीको किनारमा प्लास्टिक टिप्न जाँदा भेटाएर लगाएको । तपाई आफै विचार गर्नुस खोलाको किनारमा भेट्टाएको लुगा कस्तो हुन्छ भनेर । आफुलाई आफैले चिनाउनु पर्दा म एक अस्तित्वबिहिन मान्छे भन्छु, तर अरु सबैले मलाई खातेको संज्ञा दिएका छन् ।

हुनत म काठमाडौँमै बस्छु, कहाँ सुत्छु र के खान्छु भन्ने ठेगान नै छैन । “हे भगवान! कस्तो जीवन पाएछु, मैले पूर्व जन्ममा के पाप गरेको थिएँ र आज यो सजाए दियौ? सानैमा बाबा आमालाई नलेगेको भए पनि त मेरो यो आवस्था हुने थिएन । म त केवल पृथिवीको बोझमात्र भएछु । अब के गर्ने? यस्तो बेलामा त काल पनि आउदैन ।”

हुनत आत्मा हत्या गर्ने मनसाय मलाई नआएको पनि होइन । एकचोटी जीवनबाट हार खाएर सुन्दरीजलको त्यो ठुलो पोखरीमा हाम फालें । लाग्यो म मरे । तर आँखा खोल्दा अलौकिक संसार हो कि भनेको त वीर अस्पताल पो रहेछ । तर म कसरी बाँचे थाहा छैन मलाई । लाग्यो मेरो भाग्यमा मर्न लेखेको रहेनछ । तेसैले आहिलेसम्म पनि झिनो आशा लिएर बाँचेको छु – भविष्यमा केही गर्छु कि भन्ने आशा अझै मरेको छैन ।

सानो हुँदा काठमाडौँको पुरानो बसपार्क र सडकका फुटपाथमा अनि गल्लीमा माग्दै हिँडथें । उमेर बढ्दै गयो, माग्ने भएर पैसा माग्दै हिडदा मेरो भित्री मनले “येत्रो लाठे भएर पनि माग्दै हिड्छ्स, बरु अरु कुनै काम गर” भन्यो । अनि माग्दै हिड्दा लाज पनि लाग्न थाल्यो । देख्दा पूर्ण निरोगी छु तर भित्र भित्र खिइएको छु । तैपनि काम गर्ने आँट गरें । तेसैले आज म खोलाका किनार, फोहोरका थुप्रामा प्लास्टिक टिप्ने काम गर्छु । तिनै थुप्रा र खोलाका किनार आजका मेरा बासस्थान हुन् । धेरैलाई आफ्नो हितैसी बनाउने प्रयास गरें तर कहीं कतै सफल भईन । यसको कारण पनि मलाई थाहा छैन ।

समाजबाट म हेपिएको छु, बहिष्कृत भएको छु, सबैले मलाई नराम्रै दृष्टिले हेर्छन्, लाग्छ यहाँ मान्छेभित्रको मान्छेनै छैन कि जस्तो । म सोच्न सकिरहेको छैन कि म के गरूँ । कसलाई गएर भनूँ मेरा मनका बेदना र पीर-व्यथा । सुन्ने कोही छैन । म बिवश छु, मौन छु र स्तब्ध पनि । तेसैकारण आफ्नो दुखसंग आफै खेल्छु । थाहा छैन सुख कस्तो हुन्छ, दुखलाई नै सुख सम्झेर बाँचेको छु ।

इच्छा छ तर परिपूर्ति हुदैन, आत्मीय जोश छ तर बाह्य जाँगर शिथिल छ । म गन्तब्यबिहिन पाइला बोकेर शहरका गल्ली-गल्ली चाहरिरहेको छु, शायद गन्तब्यबिहिनता नै मेरो गन्तब्य हो ।

Leave a Reply