म्याडिसन, विस्कन्सिनमा साहित्य साँझ २०७० सम्पन्न

झरीमा साहित्यको बर्षात – साहित्य साँझ २०७० – म्याडिसन, विस्कन्सिन

-आबिष्कार भारती

नेपाली साहित्य एवं संस्कृतिको जगेर्नाको लागि महाकवी लक्ष्मी प्रसाद देवकोटाको १०४औं जन्म जयन्तिको अवसर पारेर अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसन शहरमा नेपाली अमेरिकन मैत्री संघ(नाफा)ले सदा झैं यस बर्ष पनि ‘नाफा – साहित्य साँझ २०७०’, मार्ग १ २०७० तद्-अनुसार नोवेम्बर १६ २०१३, शनिवारका दिन आयोजना गर्‍यो । सिमसिम पानी परीरहेता पनि लगभग ९० जना श्रोता-दर्शकका बिच, मिड्भेल ब्याप्टिस्ट चर्चको हल भित्र भएको यस कार्यक्रमको सुरुवात अग्रज साहित्यकारहरुको तस्बिर समुन्ने पानसमा बत्ती बालेर गरिएको थियो । नाफाका बर्तमान अध्यक्ष पूर्ण श्रेष्ठको सभापतित्व र कबिवर गोबिन्द गिरी ‘प्रेरणा’को प्रमुख आतिथ्यमा कार्यक्रम अघि बढेको थियो । कार्यक्रम अन्तर्गतका प्रतियोगितात्मक कबिताहरु २ भागमा बांडिएको थियो,’नाफा – बाल साहित्य पुरस्कार’ र ‘बिजय मल्ल साहित्य पुरस्कार’, जस्लाई आन्तरीक र बाह्य गरी ६ जना निर्णायकहरुले जाँच-परख गर्नुभएको थियो ।

nafa-sahitya-sanjh-2070-1

सम्पूर्ण ज्ञात-अज्ञात साहित्यकार प्रती श्राद्धान्जली एवं एक मिनेट मौन धारण गर्दै कार्यक्रमले पाईला अघी सरेको थियो । नाफाद्वारा सन्चालित नेपाली भाषा सिकाउने कार्यक्रम ‘कक्षा’का सहभागी भाइबहिनीहरुले नेपाली राष्ट्रिय गान र श्रब्यद्रिश्य मार्फत अमेरिकि राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । नाफा – शिक्षा तथा संस्कृति समितीका संयोजक दिनार श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो । यस्को लगत्तै १६ बर्ष मुनिका बालबालिकालाई नेपाली भाषा र साहित्यमा जोड्ने प्रयास स्वरुप ‘नाफा-बाल साहित्य पुरस्कार’ अन्तर्गतका कबिताहरु वाचन गरिएको थियो । अर्चना धख्वाद्वरा संचालित कार्यक्रमको यस भागमा अर्हत द्वा, स्तुती शाही, श्रेया श्रेष्ठ, रिभा श्रेष्ठ, इशान लुईंटेल, इशिता लुईंटेल, निशा आचार्य, ओजस्वी पसछें, ओसिका पसछें, सुहानी पाण्डे, लता शर्मा र श्रीजन श्रेष्ठले कविता प्रस्तुत गर्नुभएको थियो । बालबालिकाको उत्साहजनक कविता वाचन पछी लच्छी लिम्बुले दुई रुवाइको वाचन र ‘डाँफे झैं नाच्ने” नेपाली गीतमा नृत्य प्रस्तुत गरेर कार्यक्रममा मनोरन्जन दिएकी थिईन । नृत्य लगत्तै कार्यक्रम अन्तर्गतको दोश्रो पुरस्कार,’बिजय मल्ल साहित्य पुरस्कार’का प्रतियोगी कवी-कबयित्रीहरु सन्तोष लामिछाने, हिमाल रेग्मी, महेन्द्र पाठक, सन्जना शाही, अबिमन पसछें, रवी शाह, सोम खनाल, निरु ढुंगाना, पूर्ण श्रेष्ठ, कमला रेग्मी र बिश्वजित अधिकारीले कबिता वाचन गर्नुभएको थियो । निकै भावनात्मक कबिताहरुको कडी टुटाएर देशभक्तीले रङ्गाउन ‘कक्षा’का बहिनीहरु निशा आचार्य, लता शर्मा, बेलिस्मा श्रेष्ठ, अनित्या द्वा र नेहा कारखेती ‘हामी धेरै साना छौँ’ लिएर आएका थिए । साहित्य र देशभक्तीको रस-रङ्गलाई अझै गाडीलो र स्वादिलो बनाउन अप्रतियोगी कवी मिलन सडौला, राजेन्द्र अर्याल एवं कवयित्री सिता अर्याल, अर्चना धख्वा प्रस्तुत हुनुभएको थियो । कविताको सिल्सिलालाई अल्पबिराम लगाउने क्रममा दिनर श्रेष्ठले स्व. श्रद्धेय गायक फत्तेमान राजभण्डारीको रमाईलो संस्मरण सुनाउनु भएको थियो । तत्पश्चात प्रमुख अतिथी कविवर गोबिन्द गिरी ‘प्रेरणा’ले आफ्नो मन्तब्य र केही श्रीजनाहरुले सम्पूर्ण श्रोता-दर्शकको समय सजाउनु भएको थियो । प्रमुख अतिथीको हौसला र स्नेहवचनको लागि कृतज्ञता ब्यक्त गर्न नाफाले वहाँलाई ‘सम्झनाको चिनो’ प्रदान गरेको थियो ।

nafa-sahitya-sanjh-2070-2

कार्यक्रममा ‘नाफा-बाल साहित्य पुरस्कार’ अन्तर्गत रिभा श्रेष्ठ, निशा आचार्य र लता शर्मा क्रमश: पहिली, दोश्री र तेस्री हुनुभएको थियो भने ‘बिजय मल्ल साहित्य पुरस्कार’ अन्तर्गत सन्जना शाही, सोम खनाल र विश्वजित अधिकारी क्रमश: पहिली, दोश्रो र तेश्रो हुनुभएको थियो । सम्पूर्ण प्रतियोगी कवि-कवयित्रीलाई सभापति पूर्ण श्रेष्ठ र प्रमुख अतिथी गोबिन्द गिरी ‘प्रेरणा’ द्वयले पुरस्कार एवं प्रमाण पत्र बितरण गर्नु भएको थियो । आबिष्कार भारतीबाट संयोजित र संचालित यस ‘नाफा – साहित्य साँझ २०७०’ कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्दै सभापति पूर्ण श्रेष्ठ ज्यूले कार्यक्रमलाई पूर्णबिराम लगाउनु भएको थियो । अन्त्यमा अर्को बर्ष अझै धेरै उत्साह र कबिताका साथ भेट्ने आशाकासाथ सम्पूर्ण उपस्थित कविताप्रेमी श्रोता-दर्शकलाई साहित्य साँझ कार्यक्रमको परम्परा अनुसार सेल-रोटी सहितको नेपाली खाजा र चियाको लागि आमन्त्रण गर्नु भएको थियो । दिउँसो ३:०० बजे देखी ७:०० बजे सम्म सन्चालित सो साहित्यिक कार्यक्रम भब्यताका साथ सुसम्पन्न भयो ।

nafa-sahitya-sanjh-2070-3

Leave a Reply